स्थायी कमिटी राजीनामा दिने थलो होइन, संसदमै फेस गर्छु : प्रधानमन्त्री ओली

१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिने थलो नेपमल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी नभएको बताएका छन् । नेकपाका अध्यक्ष समेत रहेका ओलीले संसदमै फेस गर्ने समेत बताएका छन् ।

नेकपाको जारी स्थायी कमिटीमा अधिकांस सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन माग गरिरहेका छन् । ४४ सदस्यीय स्थायी कमिटीमध्ये ३१ जनाले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरेका छन् । यस्तो बेला प्रधानमन्त्रीले संसदको फेस गर्ने प्रतिक्रिया दिएका हुन् ।

बुधबार निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा ओलीले यस्तो बताएका हुन् । नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्ष गोपाल पोखरेलका अनुसार ओलीले आफुले प्रधानमन्त्री पदबाट राजीनामा दिने थलो पार्टीको स्थायी नभएको धारणा राखेका थिए । ‘जुन निकायमा फेस गर्नुपर्ने हो त्यहि निकायमा फेस गर्छु’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै पोखरेलले भने ।

पार्टी स्थायी कमिटीमा आफू कमजोर भए पनि संसदीय दलमा ८÷१० जना मात्रै सांसद आफूतिर तान्न सकियो भने स्पष्ट बहुमत आउने विश्वास प्रधानमन्त्री ओलीमा छ । त्यसैले उनले स्थायी कमिटीको निर्णय नमान्ने संकेत गरेका हुन् ।

नेकपाको स्थायी कमिटी बिहीबार पनि बस्दैछ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइएको छ ।

१८ असार २०७७, बिहीवार ०३:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु